रत्न मन्दिरको गेट खुल्यो तर दरबारको मूल ढोका अझै खुलेन
पाेखरा | जेठ १५, २०८०
पोखरा: दुई हप्ता अघिदेखि गणतन्त्र दिवसका दिन पोखरास्थित रत्नमन्दिर सर्वसाधारणलाई खुला गरिने प्रचार गरिँदै आएपनि उद्घाटनपश्चात परिसर भित्रिने प्रवेशद्वार त खुल्यो तर दरबारको मुलढोका भने खुलेकै छैन ।

रत्न मन्दिर खुलेको औपचारिक उद्घाटन गर्न परिसरको उत्तरी भागमा मञ्चको व्यवस्थापन गरिएको थियो । र, उद्घाटनपछि सोही आसपासको भागमात्र सर्वसाधारणलाई खुला गरिएको हो । रत्न मन्दिरको मूल आकर्षण मानिने दरबारको ढोका अझै ‘लक’ छ ।

रत्न मन्दिरको उद्घाटन गर्न पोखरा आइपुगेका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले गणतन्त्रको उपहारस्वरुप रत्न मन्दिर परिसर अवलोकनका लागि खुल्ला गरिएको शिलालेख मात्र अनावरण गरे ।
नेपाल ट्रष्टको मातहतमा रहेको तत्कालीन राजा महेन्द्र शाहले रानी रत्नका लागि उपहारस्वरुप २०१५ सालमा फेवाताल किनारमा बनाएको रत्न मन्दिर हाल नेपाल ट्रष्टको मातहतमा रहेको छ ।
रत्न मन्दिरमा चीनका प्रधानमन्त्री, बेलायती महारानीलगायत विशिष्ट पाहुनाको आगमन र बास भएको इतिहास छ । २०६५ सालमा गणतन्त्र स्थापना भएपछि १७४–४–२–० रोपनी क्षेत्रफलमा फैलिएको छ । राजा महेन्द्र साविकको पश्चिमाञ्चल क्षेत्र भ्रमण गर्न आउँदा रत्न मन्दिरमा बस्थे ।

रत्न मन्दिर परिसरभित्र ऐतिहासिक रत्न मन्दिर दरबारलगायत तालघर, बगैँचा र अन्य विभिन्न प्रयोजनका साना ठुला गरी १० वटा भवन छन् ।
नेपाल ट्रष्टको कार्यालयले रत्नमन्दिरको सम्पत्ति उपभोगका स्थिति अनुसार पाँच वटा क्षेत्रमा विभाजन गरेको छ, आज गणतन्त्र दिवसको अवसरमा पाँच क्षेत्र मध्ये क्षेत्र नं १ र २ मात्र सर्वसाधारणको लागि खुलेको छ ।

उद्घाटनपछि परिसरका सबै स्थान खुला नगरिएको विषयमा रत्न मन्दिर सरोकार समितिका पुर्वपदाधिकारीहरुले यस विषयमा निर्णय गर्न बाँकी रहेको जानकारी दिएका छन् । ‘समितिको पहिलो उद्देश्य दरबार जोगाउनु हो’ समितिका एक सदस्यले भने ‘दुइ हप्ताको मिहिनेत र सरसफाइपछि बल्ल खुलेको छ, अब दरबारको मूल ढोका खोल्न हाम्रो दबाब र प्रयास रहनेछ ।’
कुन क्षेत्रमा के छ ?
नेपाल ट्रष्टको कार्यालयले रत्न मन्दिरको सम्पत्ति उपभोगका स्थिति अनुसार पाँच वटा क्षेत्र मध्ये क्षेत्र १, रत्न मन्दिर परिसरको मूलद्वार र फेवाद्वार (भित्री पूर्वी गेट)को बीचको खुल्ला क्षेत्र हो । यो क्षेत्रको दक्षिणतिर २ वटा र उत्तरतिर १ वटा भवन रहेका छन् ।
क्षेत्र नं.२, फेवाद्वार (भित्री पूर्वी गेट) र बेगनासद्वार (भित्री पश्चिम गेट) भित्रको क्षेत्रलाई जनाएको छ, यो क्षेत्रमा ऐतिहासिक रत्नमन्दिर दरबार, तालघर, नानीगंग तथा मोटर ग्यारेज रहेका छन् । यहाँ विभिन्न प्रजातिका वनस्पति र फुलका बिरुवाहरु संरक्षित छन् ।
क्षेत्र नं.३, रत्न मन्दिरको उत्तर-पश्चिममा पर्ने यो क्षेत्रमा पुरानो हेलिप्याड रहेको छ, यस क्षेत्रमा ए.डी.सी अफिस र गोदाम घर रहेका छन्, यहाँ राजाको क्षेत्रीय भ्रमणका बेला प्रयोग ल्याइने घर समेत रहेको छ ।
क्षेत्र नं.४, यो क्षेत्र कर्मचारी तथा सैनिक आवासीय क्षेत्र र खुल्ला चौर मैदान भएको क्षेत्र पर्दछ, यो क्षेत्रमा ३८ कोठा भएको घर रहेको छ । हाल यो क्षेत्र नेपाली सेनाले संरक्षण तथा प्रयोग गर्दै आएको छ ।
क्षेत्र नं.५, यो क्षेत्रमा बाराही मन्दिर तर्फ जाने पक्की बाटो भन्दा उत्तर पश्चिमको खुल्ला जमिन र ३ वटा कोठा भएको १ भवन रहेको छ । यो क्षेत्रलाई हाल नेपाली सेनाले खेल मैदानको रुपमा प्रयोग गरिरहेको छ ।
दरबारभित्र ११ कोठा
रत्न मन्दिर दरबारभित्र ११ वटा कोठा रहेका छन् । पहिलो कोठालाई तत्कालिन राजा रानीको शयन कक्ष, कोठा न.२ पोखरा सवारीको बेला रानीद्धारा पूजा आजा गर्ने तथा कपडामा इस्त्री गर्ने कोठा, कोठा न.३ शाही नातेदारहरुको शयन कक्ष, विशेष गरी राजाका छोरी ज्वाईहरुले प्रयोग गर्ने गरेको, कोठा नं. ४ शाही नातेदार तथा वरिष्ठ पाहुनाहरुको शयन कक्ष, यो कोठामा स्व. विपी कोइराला पनि बास बस्नुभएको कुरा उहाँको आत्मवृतान्तमा उल्लेख छ ।
कोठा नं. ५ शाही नातेदारहरुको शयन कक्ष, विशेष गरी युवराज र युवराज्ञीहरुले प्रयोग गर्ने गरेको, कोठा नं. ५ शाही नातेदारहरुको शयन कक्ष, कोठा नं. ७ मनोरञ्जन कक्षको रुपमा विशेष गरी म्युजिक सुन्ने बजाउने, रेडियो सुन्ने, क्यारमबोर्ड खेल्ने प्रयोजनार्थ प्रयोग गर्ने, कोठा नं. ८ आराम कक्ष, राजाले नुहाउने क्रममा कहिलेकाँही प्रयोग गरिएको , कोठा नं. ९ डाइनिँग हल, कोठा नं. १० भेटघाट गर्ने लक्ष्य, रत्नमन्दिर दरबार तथा अन्य भवनमा बस्ने व्यक्तिहरुले पाहुना भेटघाट गर्ने तथा उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्ने प्रयोजनका लागि ल्याएको, कोठा नं.राजाका मूख्य एडीसीको शयन कक्ष रहेको छ ।
(नेपाल ट्रष्टको कार्यालय कमलादी काठमाडौंले प्रकाशन गरेको रत्न मन्दिरको संक्षिप्त परिचयबाट साभार)
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

